काठमाडौँ । रेड नोटिस जारी भएकी फरार एक महिलालाई युएईबाट पक्राउ गरी नेपाल ल्याईएको छ। ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी इन्टरपोल शाखाले जनाएको छ । केहि दिन अघि मात्र इन्टरपोलबाट रेड नोटिस जारी भई फरार भएका सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनारलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याईएको थियो।