काठमाडौं : विश्वभरि फैलिएको श्रमसँसार मा नेपाली कामदारको सिप, दक्षता र परिश्रमलाई मूल्याङ्कन गर्दै गन्तव्य मुलुकहरूमा भएको तलब वृद्धिले नेपाल आउने रेमिट्यान्स प्रवाहमा ठूलो वृद्धि ल्याएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.५% ले बढी हो।
वैश्विक श्रम बजारमा नेपाली श्रमिकको माग बढ्दो क्रममा, २०८२ साल असारमा मात्र १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यो अघिल्लो वर्षको समान अवधिको तुलनामा धेरै बढी हो। यसको प्रमुख कारण श्रमसँसार का देशहरू जस्तै मलेसिया र यूएईमा नेपाली कामदारको तलबमा भएको वृद्धि हो। मलेसियामा तलब करिब ६ हजार रुपैयाँले बढेको थियो भने यूएईमा न्यूनतम तलब ८ सय दिरामबाट बढाएर १ हजार दिराम पुर्याइएको छ।
गत आर्थिक वर्षमा ८ लाख ३९ हजार भन्दा बढी नेपालीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका थिए। तथ्यांकले देखाएअनुसार, रेमिट्यान्स आप्रवाहमा १६.५% को वृद्धि भएता पनि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा १३.२१% को मात्र वृद्धि भएकोले प्रति श्रमिक आउने रेमिट्यान्सको मात्रा बढेको अनुमान गर्न सकिन्छ।
रेमिट्यान्स रकममा भएको वृद्धिले निकासी व्यापार र गुणस्तरीय पर्यटन आगमनमा संकुचित हुँदा पनि विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७ दशमलव ७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३० दशमलव ६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
तर, वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ कि रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा पुर्याए पनि श्रमसँसारमा मागपत्र प्रमाणीकरणको समस्या समाधान भएको छैन र नयाँ श्रम गन्तव्य खोजीमा चुनौती कायमै छ। नेपाली श्रमिकको लागि अझै धेरै श्रम बजारहरू खुल्न र यिनको सिपलाई अन्तर्राष्ट्रिय मान्यता मिल्नुपर्ने आवश्यकता रहेको छ।